कहिलेकाहीं तिमीले यो विश्वास गर्नु जरुरी छ कि, तिमीले सधै जित्दैनौं ।
परिचय
लियोनेल मेस्सी प्रसिद्ध फुटबल खेलाडी हुन् । हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्ने उनी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्। उनको जन्म २४ जुन, १९८७ मा भएको थियो ।
प्रारम्भिक जीवन
लियोनेल मेस्सीको जन्म रोसारियो, अर्जेन्टिनामा बुवा जर्ज मेस्सी र आमा सीलिया कुक्कीटिनीको कोखमा भएको थियो । उनका बुवा एक कारखाना मजदुर थिए भने आमाले क्लिनरको काम गर्थीन् । उनका दुई दाजुहरू रडरिगो र मेशियस साथै एक बहिनी सोल पनि छन् । मेस्सी पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे । सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे । उक्त क्लबका सबै खेलाडीहरु प्रतिभावान थिए, जसले गर्दा क्लबले सबैमाझ राम्रो छाप बनाउन सफल भएको थियो । त्यसैले मेस्सीले पनि सानै उमेरमा आफ्नो प्रभाव जमाउन सफल भए। तर, ११ वर्षका उनी आफ्नो उमेरका अरु खेलाडी तथा साथी भन्दा होंचा थिए। जसले गर्दा उनको खेल करियरमै प्रश्नचिन्ह खडा भयो । उनको शरीरमा शारीरिक विकास हार्मोनको कमी पाइएको थियो ।
खेल यात्रा
शारीरिक वृद्धि नभएपछि लियोनेल मेस्सीलाई स्थानिय क्लबहरु लिन छाडे। मानिसहरु उनको खेल करियरको अन्त्य भएको अनुमान गर्थे । मेस्सीको लागि भने खेल मात्र एउटा सपना थियो र उनका बुवा पनि त्यही चाहन्थे। मेस्सीको समस्याको उपचार त गर्न सकिन्थ्यो, तर त्यो उपचार विधि अत्यन्तै महँगो हुन्थ्यो, जुन उनको परिवारको आर्थिक क्षमताले भ्याउदैनथ्यो। उनको उपचारमा प्रति महिना नौ सय अमेरिकी डलर लाग्थ्यो । प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेस्सीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त आर्थिक स्रोत थिएन।
इच्छाशक्ति हुनुपर्छ, उपाय निस्कन्छ भनेजस्तै, मेस्सीको लागि भगवान बनेर आए, उनका एक आफन्त । मेस्सीका ती आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रतिभाको बारेमा बताए र मेस्सी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए । उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च व्यहोर्ने शर्तमा अनुबन्ध गर्यो । त्यस पछि मेस्सी सपरिवार युरोप बसाइसराई गरे र बार्सिलोनाक्लबको युवा टिममा खेल्न शुरू गरे ।
सन् २००० मा जुनियर सिस्टम र्याङ्कको लागि खेलेपछि मेस्सीको खेल करियर सुरु भएको थियो। उनी छोटो समयमै पांच टिमको लागि खेल्ने एकमात्र खेलाडी बनेका थिए। उनले १६ वर्षको उमेरमा सन् १६ नोभेम्बर, २००३ मा पोर्टो विरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरेका थिए । खेलमा राम्रो प्रदर्शन गरेको देखेपछि फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए। त्यतिबेला मेस्सी १७ वर्षका थिए। र, उनले त्यो खेलमा आफ्नो जादुमय प्रतिभा देखाए। उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने त्यतिबेलासम्मको सबैभन्दा कम उमेरको खेलाडी बने।
मेस्सीले आफ्नो गृहमैदान बाहिर खेलेको पहिलो खेल युएएफए च्याम्पियनस लिगमा इटालियन क्लब उडिनीज बिरुद्ध खेलेको खेल थियो। मेस्सी र रोनाल्डिन्होको संयोजनले बार्सिलोना राम्रो स्थितिमा पुगेकोले बार्सिलोना क्याम्प नउ स्टेडियममा प्रशंसकहरूले उभिएर तालि बजाएर सम्मान गरेका थिए। अर्जेन्टिनाको लागि पहिलो खेल मेस्सीले जुन २००४ मा, पाराग्वे बिरुद्ध अन्डर-२० मैत्रीपूर्ण खेलबाट सुरु गरेका हुन् । उनले १७ अगस्ट २००५मा १८ वर्षको उमेरमा हङ्गेरी बिरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले। तर उक्त खेलमा अर्को खेलाडीलाई टाउकोले हानेको भन्दै रेफ्रीले तुरुन्तै उनलाई खेलबाट निकालेका थिए। विश्वकप छनौटमा पाराग्वेलाई १-०ले हराएको खेलबाट मेस्सी टिममा फिर्ता भएका थिए ।
२००५-०६ को सिजनमा मेस्सीले सत्र लिग खेलहरूमा एक च्याम्पियन्स लिग गोल स्कोर सहित ६ गोल गरे। सन् २००६मा भएको च्याम्पियन्स लिग टाईको दोस्रो चरणको खेलमा चेल्सी विरुद्ध खेल्दै गर्दा दायाँ तिघ्राको मासु पल्टिएको कारण समय भन्दा पहिले उनको सिजन समाप्त भएको थियो।
सन् २००६ को नोभेम्बरमा भएको रियल जारागोजा बिरुद्धको खेलमा मेस्सीको खु्ट्टाको हड्डी भाँचियो, जसको कारणले उनी तीन महिनाको खेल खेल्नबाट वञ्चित भए मेस्सी आफ्नो चोट निको नहुँदा सम्म अर्जेन्टिनामा बसे र निको भएपछि ११ फेब्रुअरीमा रेसिङ्ग स्याट्यान्डर बिरुद्धको खेलमा मैदानमा उत्रिए । २००६-००७ को सिजनमा उनले ६ खेलहरूमा १४ गोल गर्दै आफूलाई समुहको नियमित अग्रस्थानको खेलाडीको रूपमा स्थापित गरे। यसै सिजनमा रियल म्याड्रिड बिरुद्धको खेलमा मेस्सीले ह्याटट्रिक गरे, जसमा उनले तेस्रो गोल इन्जरी-समयमा गरेका थिए । उक्त खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका मेस्सी इवान जमोरानो पछि एल क्लासिकोमा लगातार तीन गोल गर्ने पहिले खेलाडी बने।
लगातार राम्रो प्रदर्शन गर्ने खेलाडी बनेका मेस्सीले २००७-०८ सिजनको क्रममा, एक हप्तामा पाँच गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष चारमा पुर्याएका थिए । उनले त्यस सिजनमा युइएफए वर्षको क्लब फुटबल खेलाडीको उपाधी जितेका थिए । २००९ मा २०१६ सम्मको लागी बार्सिलोनासँग €२.५ अरबको नयाँ अनुबन्धनमा हस्ताक्षर गरेपछट मेस्सी लगभग € ९५ लाख वार्षिक आय सहित, जाल्टान इब्राहिमोभिच बराबर ला लिगाको उच्चतम पारिश्रमीक लिने खेलाडी बनेका थिए ।
सन् २००६ को विश्वकपमा चोटका बावजुद पनि छानिएका मेस्सीले प्रवेश गरेको केही मिनेटमा नै हरनान क्रेस्पोलाई गोल गर्नमा सहयोग गरे र ६-० को जितमा अन्तिम गोल पनि गर्न सफल भए, यसबाट उनी प्रतियोगितामा सबैभन्दा कम उमेरको स्कोरर र विश्व कपको इतिहासमा सबैभन्दा कम उमेरको छैठौ गोल गर्ने स्कोरर बने। २००८ ग्रीष्मकालीनओलम्पिकमा मेस्सीलाई अर्जेन्टिनाको लागि खेल्नबाट निषेध गरिए पछि,[१०४] उनले बार्सिलोनाका नयाँ प्रशिक्षक जोसेप गार्डियोला सँग वार्ता गरे र पछि मात्र उनलाई खेल्न दिने सहमति जनाए।
सन् २००८ मा क्लबबाट रोनाल्डिन्हो निस्किएपछि उनको १० नम्बर जर्सी मेस्सीले प्राप्त गरेका हुन् । २००९मा भेनेजुएला बिरुद्द विश्वकप छनौटमा मेस्सीले पहिलो पल्ट अर्जेन्टिनाको लागि १० नम्बरको जर्सी लगाएका हुन् । लियोनेल मेस्सीको शुरुवाती गोलको मद्दतले अर्जेन्टिनाले खेल ४-० ले जितेको थियो ।
२०१० का लिग खेलहरुमा मेस्सीले लगातार ह्याट्रिक गरेका थिए । २०११/१२ को सिजनमा उनले १३२ गोल गर्दै बार्सिलोनाको सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा आए। त्यसपछिको युइएफए च्याम्पियन्स लिगको खेलमा ५ गोल गर्ने उनी पहिलो खेलाडी बने। सन् २०१३ को लिगमा प्रत्येक टिम विरुद्ध गोल गरेर उनले अर्को किर्तिमान रचे। लगातारको चोटले गर्दा करियरमा परेको समस्यालाई व्यवस्थित गर्दै मेस्सी २०१४ मा खेलमा आए र सेभिल्ला विरुद्ध ह्याट्रिक गरे। २०१५ मा बार्सिलोनाले लिगमा १२२ गोल गर्यो, जसमा ५८ गोल मेस्सीले गरेका थिए।
२०१५ -१६ को सिजनमा उनले ४१ गोल गरेका थिए । उनको यो दमदार प्रदर्शन २०१७-१८ मा पनि गइरहेको छ। मेस्सीले २०१८ मा ३८ वर्ष पुरानो रेकर्ड तोड्दै नयाँ किर्तिमान बनाएका छन् । उनले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा आफ्नो नाम लेखाएका हुन् ।
सामाजिक काममा समेत सक्रिय मेस्सीले २००७ मा लियो मेस्सी फाउन्डेसन स्थापना गरेर विशेष गरि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन्। उनले बालबालिकाको शिक्षाको लागि, बालबालिकाको अस्पतालको निर्माणको लागि, बालबालिकाको सेल्टर होमको लागि विशेष सहयोग गर्ने गर्छन् ।
मेस्सी एक चरणमा, आफ्नो गृहनगर रोसारियोको माकारीना लीमोससँग रूमानी तरिकामा आवद्ध थिए। उनी भन्छन् कि जब उनी २००६ विश्वकप शुरू हुनु भन्दा केही दिन पहिले चोटबाट मुक्ति पाउनको लागि रोसारियो फर्किएको समयमा उनीहरुको भेट भएको थियो । अतीतमा पनि उनको नाम अर्जेन्टिनी मोडल लूसियाना सालाजारसँग जोडिएको थियो। पछि उनी एन्टोनेला रोकुजोसंग समबन्धमा रहे र लामो प्रेम सम्बन्धपछि २०१७ जुनमा उनीहरुले विवाह गरे। विवाह अगावै सन्तान जन्माएका उनीहरुका थिअगो र मतेओ नाम गरेका दुई सन्तान छन्।
सफलता
लियोनल मेस्सी आफ्नो खेल मार्फत नै संसारभर प्रख्यात छन् । उनलाई सिनियर फुटबलरहरुले एक ‘रत्न’ को रुपमा प्रशंसा गर्ने गरेका छन् । सन् २०१६ मा खेलबाट सन्यासको घोषणा गरेका उनलाई दर्शकको मायाको दबाबले नै फेरी खेलमा फर्किने निर्णय लिन बाध्य बनाएको थियो। उनले २०१०, २०१२, २०१३, २०१७ मा गोल्डेन जुत्ता, फिफा वर्ल्ड प्लेयर अफ द इयर २००९, फिफा वर्ल्ड कप गोल्डेन बल २०१४ लगायतका थुप्रै प्रतिष्ठित अवार्डहरु पाएका छन् ।
कुनै पनि व्यक्तिले सधै एकैनासले जित हासिल गरिरहन्थ्यो भने, उसको गन्तव्य एउटा जितमा नै सकिन्थ्यो । किनकी, त्यहाँ कुनै रोमाञ्चकता नै हुँदैनथ्यो र उसले अगाडी बढ्नको लागि पनि प्रयास गर्न जरुरि ठान्दैनथ्यो । मेस्सीले भनेजस्तै ‘मैले सधैभरि जित्न सक्दिन’ भन्ने कुरालाई मनन गरेर कडा मेहनत गर्नुपर्छ र हारबाट पछाडी हट्नु हुँदैन। सधै जित नै हुने हो भने त, मेस्सी किन खेलिरहनुपर्थ्यो ? उनले पहिलो ह्याट्रिक गर्ने वित्तिकै स्वत: फुटबलको प्रत्येकखेलका विजेता घोषणा हुनेथिए । जीवनका प्रत्येक खेल जित्नका लागि खेल्नुस्, तर हारको लागि पनि तयार भएर खेल्नुस् ।